ह्वाट्सएपमा यसरी पठाउनुहोस् पाउनेले सुन्ने बित्तिकै हराउने भोइस मेसेज
ह्वाट्सएपमा यसरी पठाउनुहोस् पाउनेले सुन्ने बित्तिकै हराउने भोइस मेसेज
काठमाडौं । कतिपय अवस्थामा अलि गोप्य मेसेज पठाउनु पर्ने हुन्छ । सोही गोपनियतालाई केन्द्रित गर्दै सामाजिक सञ्जाल कम्पनीहरूले विभिन्न फिचर दिएका हुन्छन् । मेटाको स्वामित्व रहेको ह्वाट्सएपमा यसका लागि ‘भ्यु वान्स’ (view once) फिचर पाउन सकिन्छ ।
यस फिचर प्रयोग गरेर पठाइएको फोटो तथा भिडिओ अन्य प्रयोगकर्ताले सेभ गर्न सक्दैनन् । प्रयोगकर्ताले एक पटक उक्त फोटो/भिडिओ हेरिसकेपछि ती स्वतः डिलिट हुन्छन् । त्यसले गर्दा संवेदनशील सामग्रीहरूलाई अन्य प्रयोगकर्ताले हेर्न नपाउने अथवा तिनमा पहुँच नपाउने कम्पनीकाे भनाइ छ ।
त्यस्तै मेसेज पठाउन पनि विभिन्न माध्यम छन् । केही अगाडिसम्म सामाजिक सञ्जालमा टेक्स्टको विकल्प मात्र थियो । अहिले टेक्स्टसँगै फोटो/भिडिओ, अडिओ विकल्प पाउन सकिन्छ । आज हामी ‘भ्यु वान्स’ फिचर प्रयोग गरेर ह्वाट्सएपमा कसरी अडिओ मेसेज पठाउने भन्ने तरिका सिकाउन जाँदै छौं:
-ह्वाट्सएप लगइन गरी मेसेज पठाउन कुनै व्यक्तिको अकाउन्टमा जानुहोस् ।
-अडिओ मेसेज पठाउन दायाँ भागमा माइकको आइकन दिइएको छ । त्यसमा केहीबेर क्लिक गरेर माथितिर स्वाइप गर्नुहोस् ।
-अब आफ्नो मेसेज रेकर्ड गर्नुहोस् । अनि दायाँ भागमा नै भएको अङ्ग्रेजी अङ्क वन (1) मा ट्याप गर्नुहोस् ।
-अडिओ रेकर्डपछि सेन्ड अप्सनमा क्लिक गर्नुहोस् । उक्त अडिओ मेसेजमा ‘वन’ भन्ने विकल्प देखिन्छ । त्यसमा सो मेसेज ‘भ्यु वान्स’ फिचरमार्फत पठाइएको बुझ्न सकिन्छ ।
यसका साथै ‘भ्यु वान्स’ फिचरमार्फत तपाईंले फोटो/भिडिओ पनि पठाउन सक्नुहुन्छ । त्यसका लागि भने पठाउने फोटो/भिडिओ छानिसकेपछि अङ्ग्रेजी अङ्क वनमा क्लिक गर्नुपर्छ ।
यसरी तपाईंले ‘भ्यु वान्स’ फिचरमार्फत कुनै पनि मेसेज पठाउन सक्नुहुन्छ ।
स्रोतः टेकपाना डटकम