मोबाइलमा ‘अङ्क १’ थिच्दा क्षणभरमै गुम्यो ३ लाख रुपैयाँ !

call-techpana-news_sDyF6oep5I
Updates

मोबाइलमा ‘अङ्क १’ थिच्दा क्षणभरमै गुम्यो ३ लाख रुपैयाँ !

काठमाडौं । भारतको बैंग्लोरमा यस्तो साइबर अपराधको घटना सार्वजनिक भएको छ, जहाँ एक महिलाले फोनमा ‘अङ्क १’ थिच्दा क्षणभरमै दुई लाख भारु (करिब तीन लाख २० हजार नेपाली रुपैयाँ) गुमाउन पुगेकी छिन् । ५७ वर्षीया महिलाले एक विश्वसनीय बैंकबाट आएको नक्कली आईभीआर (इन्टर्याक्टिभ भ्वाइस रेस्पोन्स) कलमा निर्देशन अनुसार बटन थिच्दा दुई लाख भारु गुमाएकी हुन् ।

सुमित्रा (नाम परिवर्तन) दक्षिण कर्नाटकमा रहेको दत्तत्रेय नगरकी बासिन्दा हुन् । उनले गिरीनगर प्रहरीलाई दिएको जानकारी अनुसार २० जनवरी दिउँसो ३:५५ बजे एक नम्बरबाट (०१४१२८२००७१) उनलाई फोन आएको थियो । उनले उक्त कल स्टेट बैंक अफ इन्डिया (एसबीआई) बाट आएको ठानेकी थिइन्, किनभने उनको खाता पनि सोही बैंकमा छ ।

आईभीआर कलमा अङ्ग्रेजीमा भनिएको थियो, ‘तपाईंको खाताबाट २ लाख रुपैयाँ अर्को खातामा ट्रान्सफर हुँदैछ । यदि यो कारोबार तपाईंले नै गर्नुभएको हो भने ३ थिच्नुहोस्, यदि गर्नुभएको होइन भने १ थिच्नुहोस् ।’

सुमित्राले बयानमा भनिन्, “मैले कुनै कारोबार नगरेकोले यो सुनेर एकदमै अचम्म लाग्यो । मैले कुनै नम्बर थिच्न चाहिनँ । तर फोनमा मलाई बारम्बार तपाईंले प्रतिक्रिया दिनुभएको छैन भनिरहेको थियो । म अन्योलमा परेँ । यसरी अङ्क थिच्नुस् भनेको तीन पटक सुनेपछि मैले १ थिचेँ, किनकि मैले त्यो कारोबार सुरु गरेकी थिइनँ ।”

त्यस लगत्तै अर्को आवाज सुनियो । त्यसमा भनिएको थियो, “कृपया आफ्नो बैंकमा जानुहोस् र तुरुन्तै म्यानेजरलाई सम्पर्क गर्नुहोस् ।” त्यसपछि फोन काटियो ।

“मैले आफ्नो खाता जाँच गर्दा दुई लाख रुपैयाँ कम भएको देखें । म तुरुन्तै बैंक गएँ र म्यानेजरलाई सम्पर्क गरेँ । म्यानेजरले मलाई साइबर हेल्पलाइन १९३० मा फोन गरेर गुनासो टिपाउन भने । उनले कारोबार रद्द गर्न वा ठगको खाताबाट पैसा रोक्नको लागि सम्बन्धित ठाउँमा लेख्ने बताए । मैले साइबर हेल्पलाइनमा घटना रिपोर्ट गरेँ र गिरीनगर प्रहरीमा गएर उजुरी दर्ता गराएँ,’ सुमित्राले भनिन् ।

सूचना प्रविधि ऐन र भारतीय न्याय संहिताको धारा ३१८ (ठगी) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । प्रहरीले टाइम्स अफ इन्डियालाई भने अनुसार यो अनौठो घटना हो । एक वरिष्ठ प्रहरी अधिकारीले भने, “सामान्यतया आईभीआर कलमा ठगहरूले डेबिट कार्डको अन्तिम चार अंक, बैंक खाता नम्बर वा जन्म मिति, ईमेल आईडी जस्ता जानकारीहरू माग्छन् । एकपटक पीडितले जानकारी दिएपछि पैसा निकाल्छन् । तर यस घटनामा, पीडितले कुनै पनि जानकारी नदिई नम्बर १ मात्र थिचेर पैसा गुमाएकी छिन् । यो एकदमै अनौठो हो ।”

यस घटनामा, पीडितले केही तथ्यहरू लुकाएको जस्तो देखिने ती प्रहरी अधिकारीले बताएका छन् । “उनले कल आएपछि केही जानकारी दिएकी हुन सक्छिन्, जसको माध्यमबाट ठगहरूले उनको खातामा पहुँच पाएर पैसा निकालेका हुन सक्छन्,” प्रहरी अधिकारीले भने, “यदि उनले केही लुकाएकी छैनन् भने, यो एकदमै नयाँ घटना हो । अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुनेछ ।”

स्रोतः टेकपाना डट कम

Leave your thought here

Your email address will not be published. Required fields are marked *

Alert: You are not allowed to copy content or view source !!